तेल मूल्यवृद्धिपछि यातायात भाडा तत्काल समायोजन गर्न महासंघको माग

0
6

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले यातायात व्यवस्था विभाग, मिनभवनलाई पत्र पठाउँदै हालको लागतअनुसार भाडा समायोजन नभएको कारण यातायात व्यवसायी गम्भीर समस्यामा परेको जनाएको हो।

महासंघले २०८२ चैत २ गते महानिर्देशकलाई पठाएको पत्रमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले २०६५ सालमा जारी गरेको वैज्ञानिक भाडा मापदण्डअनुसार यातायात भाडा निर्धारण तथा समायोजन हुँदै आएको उल्लेख गरेको छ। उक्त मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्य, सवारी साधनको लागत, सञ्चालन खर्च लगायतका आधारमा भाडा समायोजन हुनुपर्ने व्यवस्था रहेको महासंघको भनाइ छ।

महासंघका अनुसार २०८१ सालसम्म आइपुग्दा पेट्रोलियम पदार्थको मूल्य करिब ३५ प्रतिशतको औसतमा वृद्धि हुँदा सोही अनुपातमा यातायात भाडा पनि स्वचालित रूपमा समायोजन हुँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा इन्धनको मूल्य वृद्धि ६५ प्रतिशतको औसतमा पुगिसक्दा पनि सोअनुसार यातायात भाडा समायोजन हुन नसकेको महासंघले जनाएको छ।

त्यसैगरी मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनाव, विशेष गरी इरान र अमेरिकाबीचको द्वन्द्वका कारण भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा उतारचढाव आउने अवस्था देखिएको महासंघले जनाएको छ। यस्तो परिस्थितिमा यातायात क्षेत्रको सञ्चालन खर्च झनै बढ्ने सम्भावना रहेको महासंघको दाबी छ।

नेपाल आयल निगमले २०८२ चैत १ गते आइतबार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेपछि यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेको महासंघले उल्लेख गरेको छ। इन्धन महँगो हुँदै जाँदा यातायात व्यवसायीले उच्च लागतमा तेल खरिद गरेर सेवा सञ्चालन गर्नुपर्ने तर भाडा समयमै समायोजन नभएकाले व्यवसाय सञ्चालन कठिन बन्दै गएको महासंघको भनाइ छ।

महासंघले पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुनेबित्तिकै स्वचालित रूपमा यातायात भाडा पनि समायोजन हुने व्यवस्था लागू गर्नुपर्ने माग गरेको छ। साथै हाल भएको मूल्यवृद्धिलाई समेत ध्यानमा राख्दै तत्काल यातायात भाडा समायोजन गरिदिन यातायात व्यवस्था विभागसँग सादर अनुरोध गरिएको छ।

उक्त पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समेत पठाइएको महासंघका महासचिव भरत नेपालले जानकारी दिएका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here