आजदेखि देशभर औपचारिक चुनावी प्रचार–प्रसार सुरु, आचारसंहिताभित्र रहेर १५ दिन मत माग्न पाउने
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि देशभर औपचारिक चुनावी प्रचार–प्रसार सुरु भएको छ। मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्थाअनुसार दल र उम्मेदवारहरू आजदेखि फागुन १८ गते राति १२ बजेसम्म मतदातामाझ खुला रूपमा प्रस्तुत हुन पाउने भएका हुन्।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार अब राजनीतिक दलहरूले घरदैलो अभियान तीव्र पार्ने, आमसभा गर्ने, आफ्ना एजेन्डा सार्वजनिक गर्ने र मतदातासँग प्रत्यक्ष संवाद बढाउनेछन्। चुनावी मैदान तात्दै जाँदा दलहरूले आफ्नो घोषणापत्र, विकासका योजना र प्रतिबद्धता आक्रामक रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
आयोगले निर्वाचनको निष्पक्षता र निष्ठालाई उच्च प्राथमिकतामा राख्न सबै दल तथा उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। राजनीतिक दलहरूले समेत आचारसंहिताको सम्मान गर्ने प्रतिबद्धता जनाइसकेका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन्। उल्लङ्घन प्रमाणित भएमा स्पष्टीकरण, चेतावनी, दण्डजरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
चुनावी प्रचारका क्रममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा तोकिएको मापदण्डभित्र रहेर विज्ञापन गर्न पाइनेछ। आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापन लगायतको सम्पूर्ण खर्च विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ। खर्च पारदर्शितालाई कडाइका साथ अनुगमन गरिने आयोगले जनाएको छ।
यसैबीच, सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउने गतिविधिप्रति आयोगले विशेष निगरानी बढाएको छ। कुनै पनि दल वा उम्मेदवारविरुद्ध संगठित रूपमा गलत सूचना प्रवाह गरी निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरे कडा कारबाही गरिने चेतावनी दिइएको छ।
औपचारिक प्रचार सुरु भएसँगै अब दलहरूबीच प्रतिस्पर्धा तीव्र हुने अपेक्षा गरिएको छ। मतदाताले अब प्रत्यक्ष रूपमा उम्मेदवारको दृष्टिकोण, योजना र कार्यक्षमता मूल्यांकन गर्ने अवसर पाउनेछन्। आगामी १५ दिन राजनीतिक दलका लागि परीक्षा र मतदाताका लागि छनोटको निर्णायक समय बन्ने देखिएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.