आमाको रोदन सुन्ने समय आएको छः लुईटेल
२७ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले देशमा बढ्दो बेथिती, नीतिगत भ्रष्टाचार र राजनीतिक अस्थिरताले आम नेपाली आमा–बुबालाई रोउने अवस्थामा पु¥याएको बताउनुभएको छ ।
उहाँले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब ढिला नगरी गाउँ फर्कने र राष्ट्र पुनःनिर्माणको अभियानमा लाग्ने बेला आएको उल्लेख गर्नुभयो । “आमाको रोदन सुन्ने समय आएको छ, देश लथालिंग छ, छोरा–छोरीहरू गाउँ फर्क, अब यही नै समाधान हो,” अध्यक्ष लुईटेलले भावुक हुँदै भन्नुभयो ।
डा. लुईटेलका अनुसार अहिलेको नीतिगत भ्रष्टाचार र शासन व्यवस्थाको कमजोर कार्यसम्पादनका कारण देशभर असन्तोष बढ्दै गएको छ । उहाँले युवाहरूलाई देश सम्हाल्ने जिम्मेवारी लिन आग्रह गर्दै भन्नुभयो, “राजाले पनि अब ढिला हुन लाग्यो, देशको अस्तित्व जोगाउन युवाहरू उठ्नैपर्छ ।”
उहाँले आमा र राजाको संयुक्त आव्हानलाई सबै नेपालीले आत्मसात् गर्नुपर्ने बताउँदै राष्ट्रिय एकता र आन्तरिक आत्मनिर्भरता नै राष्ट्र उद्धारको मार्ग भएको स्पष्ट पार्नुभयो ।
“हिजो हामी कहाँ थियौँ, आज कहाँ छौँ — यही प्रश्नले हाम्रो आत्मालाई झकझक्याइरहेको छ,” डा. लुईटेलले भावुक हुँदै भन्नुभयो, “अब देश बाँचोस् भने गाउँ फर्कौं, उत्पादन गरौं, आत्मनिर्भर बनौं र भ्रष्टाचारको विरुद्ध एकजुट बनौं ।”
अध्यक्ष लुईटेलले जनतामा जागरण ल्याउन र नयाँ पुस्तालाई देशको हितमा एकजुट हुन आह्वान गर्दै भन्नुभयो — “यो आव्हान केवल शब्द होइन, राष्ट्र पुनर्जागरणको अन्तिम सन्देश हो । आमा र राजाको आवाजलाई हामी सबैले साथ दिनु पर्छ ।”
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.