उद्योग वाणिज्य महासंघले आज ‘राष्ट्रिय बृहत आर्थिक बहस’ को आयोजना गर्ने
२२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले आज शनिबार राजधानी काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस’ कार्यक्रम आयोजना गर्ने भएको छ । जेनजी आन्दोलनपछि देशको समग्र आर्थिक अवस्था, लगानी वातावरण र आगामी आर्थिक नीतिको कार्यदिशाबारे साझा धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की मुख्य अतिथिको रुपमा उपस्थित रहनेछिन् भने अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको पनि सहभागिता रहनेछ ।
यससँगै मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, काठमाडौंस्थित विदेशी दूतावासका राजदूतहरू, विकास साझेदार, अन्तर्राष्ट्रिय नियोगका प्रमुखहरू, निजी क्षेत्रका संस्थानका पदाधिकारीहरू र उद्योगी–व्यवसायीहरू समेत कार्यक्रमका सहभागी रहने महासंघले जनाएको छ ।
महासंघका अनुसार देशको आर्थिक स्थायित्व, उत्पादन वृद्धि, लगानी प्रोत्साहन, रोजगारी सिर्जना र राज्य–निजी क्षेत्रबीचको सहकार्य सुदृढ गर्न यस बहसले महत्वपूर्ण दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले यसअघि सन् २०८० सालमा पनि ‘राष्ट्रिय बृहत आर्थिक बहस’ पहिलो श्रृंखला आयोजना गरेको थियो । यसपटकको दोस्रो श्रृंखलालाई जेनजी आन्दोलनपछि उत्पन्न आर्थिक चुनौती र सुधारका सम्भावित उपायहरूमा केन्द्रित गरिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.