जेन–जीको पछिल्लो अभिव्यक्तिले चिन्ता बढायोः चिरिबाबु महर्जन
२ पुष, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन–जी आन्दोलनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले जेन–जीको पछिल्लो अभिव्यक्तिले चिन्ता बढाएको बताउनुभयो।
प्रमुख महर्जनका अनुसार वर्तमान अन्तरिम सरकारको स्पष्ट जिम्मेवारी फागुन २१ गते निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्नु हो। तर जेन–जी समूहबाट पछिल्लो समय ‘निर्वाचन हुनै नदिने’ किसिमका आवाज उठिरहेका छन्, जसप्रति उहाँले आपत्ति जनाउनुभयो।
उहाँले निर्वाचन अपरिहार्य भएको र त्यसलाई सफल बनाउन सबै पक्ष, विशेषगरी जेन–जीले पनि जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने गतिविधि उचित नहुने उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख महर्जनले जेन–जीको सोच र परिपक्वतामाथि पनि टिप्पणी गर्दै अझै उनीहरूको ‘बुद्धि पलाउन बाँकी रहेको’ अभिव्यक्ति दिनुभयो।
ललितपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा अघि सारेका विकास, सुशासन र सेवा प्रवाहसम्बन्धी कामहरू महानगरभित्र मात्रै नभएर अन्य स्थानीय तहको लागि पनि उदाहरणीय बन्दै गएको महानगरका मेयर चिरीबाबु महर्जनले बताउनु भयो ।
‘महानगरपालिकामा जे जति हामीले कामहरू गर्यौं, ती कामहरू उत्प्रेरक खालको छ, अरूले पनि अनुसरण गर्न मिल्ने किसिमले गर्दै आइरहेका छौं,’ प्रमुख महर्जनले भन्नु भयो । महानगरपालिकाले योजनाबद्ध विकास, पारदर्शिता, नागरिक सहभागिता र दिगोपनालाई प्राथमिकतामा राख्दै काम गरिरहेको महर्जनले जानकारी दिनु भयो । त्यस्तै, उहाँले महानगरभित्र जनप्रतिनिधि, कर्मचारीबीच राम्रो मेलमिलाप रहेको र त्यसले नै हरेक कार्यक्रम सफललतापूर्वक गर्दै आइरहेको उल्लेख गर्नु भयो ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.