जेन–जी आन्दोलनपछि प्रमुख दलहरूलाई एक ठाउँमा ल्याउने तयारी
९ मंसिर,काठमाडौं । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख राजनीतिक दलबीच आपसी विश्वासको अभाव देखिएको संवेदनशील अवस्थामा प्रधानमन्त्री सुशीला कार्की राजनीतिक सहमति निर्माणतर्फ सक्रिय भएकी छन् । आन्दोलनपछि सत्ताबाट विस्थापित भएका शीर्ष नेताहरु र अन्तरिम सरकारबीच संवाद हुन नसक्दा २१ फागुनमा तोकिएको आमनिर्वाचनप्रति अझै अनिश्चितता झल्किरहेको बेला प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग विस्तृत छलफल गर्न तयारी थालेकी हुन् ।
प्रधानमन्त्री कार्की यसै साताभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त भेटवार्ता गर्ने तयारीमा छिन् । मंगलबारसम्म औपचारिक आमन्त्रण–पत्र पठाउने प्रक्रिया सकिने बताइएको छ । बैठकको मिति भने अन्तिम टुंगो लागिसकेको छैन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार २१ फागुनमा हुने भनिएको निर्वाचनलाई विश्वसनीय र सहज बनाउने उद्देश्यले शीर्ष नेतासँग छलफल अपरिहार्य भएको हो । जेन–जी आन्दोलनका कारण राजनीतिक वातावरण तनावपूर्ण बने पनि अहिले अवस्था क्रमशः सामान्य हुँदै गएको र निर्वाचनको माहोल पनि पुनः तयार भइरहेको सचिवालयले जनाएको छ ।
एमालेले पछिल्लो समय अन्तरिम सरकार र प्रधानमन्त्री कार्कीप्रति कडा आलोचना गर्दै संवैधानिक अधिकार र चुनावी पूर्वाधार कमजोर भएको आरोप लगाउँदै आएको छ । यस्तो पृष्ठभूमिमा दलहरूबीच भरोसा पुनःस्थापना गर्न प्रधानमन्त्रीको पहल महत्वपूर्ण मानिएको छ ।
तीन प्रमुख दलका नेताहरूले समेत प्रधानमन्त्री कार्कीले आफूहरूलाई छलफलमा नडाकेको गुनासो गर्दै आएका थिए । त्यसैले पहिलो चरणमा प्रमुख तीन दलका नेतासँग संयुक्त बैठक गर्ने र त्यसपछि अन्य दलका अध्यक्षहरूसँग क्रमिक रुपमा संवाद बढाउने कार्यसूची प्रधानमन्त्रीले तयार पारेकी छन् ।
अन्तरिम सरकार, प्रमुख पार्टीहरू र जेन–जी आन्दोलनपछि बनेको नयाँ शक्ति सन्तुलनबीच उत्पन्न अविश्वास हटाएर निर्वाचनसम्म सहकार्य र स्थिरता कायम गर्नु नै प्रधानमन्त्री कार्कीको मूल उद्देश्य रहेको सरकारी स्रोतले जनाएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.