थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण हुने
२२ कात्तिक, काठमाडौं । चन्द्रागिरि–४ थानकोटमा करिब एक अर्ब रुपैयाँको लागतमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालस्थित जर्मन राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भएको भेटवार्तामा जर्मन विकास बैंक (KfW) को आर्थिक तथा प्राविधिक सहयोगमा अस्पताल निर्माणबारे छलफल भएको थियो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रूपमा २५ शय्याको सो अस्पताल निर्माण हुने जनाइएको छ । प्राथमिक अस्पताल थानकोटको परिसरमा बन्ने भवनका लागि मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ ।
अस्पताल निर्माणका लागि केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गरी ‘ग्लोबल टेन्डर’ प्रक्रियासम्म पुर्याएको छ । नगरप्रमुख गिरीका अनुसार परियोजनाको सहज समन्वय र सहजीकरणका लागि नगरपालिका निरन्तर सक्रिय रहनेछ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.