पार्टीभित्र आफू–आफैलाई नाङ्ग्याउने प्रतिस्पर्धा कहिल्यै उपयोगी हुँदैनः शर्मा
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रबिन्स शर्माले पार्टी भित्र देखा परिरहेको कटाक्ष, आरोप–प्रत्यारोप र सामाजिक सञ्जालमा फैलिने आपसी बदनामीका प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै सचेतना मूलक टिप्पणी सार्वजनिक गरेका छन्। शर्माले पार्टीका केही केन्द्रिय पदाधिकारी र सदस्यहरूबाट “पुरानै अनुहार लिएर अब चुनावमा जान सकिन्न” भन्ने अभिव्यक्ति आएको प्रसंग उठाउँदै यदि साँच्चिकै नयाँ अनुहार र नयाँ विचारको माग छ भने त्यसको जिम्मेवारी स्वयं नेतृत्वले नै लिनुपर्ने बताएका छन्।
उनका अनुसार “नयाँ अनुहार खोज्ने हो भने दुई काम गर्नुपर्छ– पहिलो, केन्द्रिय पदाधिकारी वा सदस्यमा नउठ्नु; दोस्रो, टिकट पनि नलिनु। दुवै ठाउँमा नयाँ अनुहार आयो भने मात्र जनता विश्वास गर्छन्,” भन्ने उनको तर्क छ।
शर्माले पार्टीभित्रै नयाँ पुस्ताको आवश्यकता भन्दै सार्वजनिक रूपमा पुरानै अनुहारमाथि प्रश्न उठाउने तर अन्ततः चुनावी टिकट पनि आफ्नै हातमा राख्ने प्रवृत्तिले जनविश्वासमा नकारात्मक प्रभाव पार्ने बताएका छन्। उनका अनुसार यस्तो व्यवहारले टिकट बाँडफाँडमा आफ्नै स्वार्थ चलाइएको छ भन्ने संदेश दिन पुग्छ, जुन पार्टीका लागि दीर्घकालीन रूपमा घातक बन्न सक्छ।
सामाजिक सञ्जालमा नेताहरूलाई तर्खर गर्ने, अपमानजनक शैलीमा गालीगलौज गर्ने तथा बदनाम बनाउने अभियानप्रति चिन्ता व्यक्त गर्दै शर्माले चेतावनीसमेत दिएका छन्। उनले भने, “आज नेतामाथि मानमर्दन गर्दै चलाइएका हतियारहरू भोलि ती प्रयोगकर्ताकै टाउकोमा बज्रन्छन्। पार्टीभित्र आफू–आफैलाई नाङ्ग्याउने प्रतिस्पर्धा कहिल्यै उपयोगी हुँदैन।” उनले पारिवारिक दृष्टान्तद्वारा दलभित्र देखिएको विभाजन र आन्तरिक आक्रमणको भविष्यबारे पनि सन्देश दिएका छन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.