पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको २५औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन भव्य रुपमा सम्पन्न
२२ कात्तिक,पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको २५औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन आज भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमसँगै ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको गण्डकी प्रदेश तदर्थ समिति पनि घोषणा गरिएको छ । देशभरका स्टील, ग्रिल र फेब्रिकेशन व्यवसायीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा व्यवसायको वर्तमान अवस्था, आगामी सम्भावना र नीति-नियमगत सुधारका विषयमा गहिरो छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री हरि प्रसाद पाण्डेले उद्योग क्षेत्र राष्ट्रको मेरुदण्ड भएको भन्दै नेपालमा घरेलु उत्पादनमा आधारित उद्योगलाई राज्यले अझ बढी संरक्षण र प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले स्टील र फेब्रिकेशन क्षेत्रले देशको निर्माण, रोजगारी र भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै यो क्षेत्रमा लगानी र प्राविधिक सुधार अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठुलो बाबु श्रेष्ठले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै जटिल मोडमा पुगेको बताउनुभयो । उहाँका अनुसार देशमा निर्माण क्षेत्रमा आएको मन्दी, लगानीमा घट्दो आत्मविश्वास, र सरकारको ढिलो नीति कार्यान्वयनले गर्दा ग्रिल र स्टील उद्योगहरू गम्भीर संकटमा परेका छन् । श्रेष्ठले भन्नुभयो, “देशमा पूँजी सुक्दै गएको छ, ठूला आयोजना ठप्प छन्, र निजी क्षेत्रलाई राज्यले सुन्ने समय आएको छैन । यस्तो अवस्थामा हामीले व्यवसायलाई जोगाएर अघि बढाउनु आफैंमा चुनौतीपूर्ण काम हो ।”
उहाँले व्यवसायीहरूले सरकारसँग बारम्बार माग गर्दा पनि स्टील उद्योगका समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गर्नुभयो । उहाँको भनाइमा, अहिले बजारमा स्टीलको मूल्य अस्थिर छ, माग घटेको छ, र बैंकहरूको ब्याजदर उच्च भएको कारण व्यवसायीहरू दोहोरो दबाबमा छन् । “एकातिर आर्थिक मन्दी, अर्कातिर करको बोझ — यस्तो अवस्थामा पनि हामीले रोजगार टिकाइरहेका छौं, यो नै हाम्रो देशप्रतिको योगदान हो,” उहाँले थप्नुभयो ।
श्रेष्ठले आगामी दिनमा स्टील तथा फेब्रिकेशन व्यवसायलाई आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र सहकारी एकताबाट अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब हामीले टेवा दिने नीतिहरूका लागि सरकारसँग मात्र आशा राख्ने होइन, स्वावलम्बनको बाटो रोज्नुपर्छ । साना उद्यमीदेखि ठूला उद्योगीसम्म एकजुट भएर अघि बढ्न सके यो क्षेत्रले फेरि पनि देशको अर्थतन्त्रलाई उठाउन सक्छ।”
सो अवसरमा विभिन्न जिल्लाबाट आएका उद्योगी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्नो अनुभव र सुझाव साझा गरेका थिए । उनीहरूले कर प्रणाली सरल बनाउन, वैदेशिक लगानीमैत्री नीति ल्याउन र स्थानीय सरकारहरूमार्फत साना उद्योगका लागि विशेष सहुलियत कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह गरेका थिए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.