भ्रष्टाचार विरुद्ध जनताले उठाएको आवाजलाई सरकारले दमन होइन, मार्गदर्शनको अवसरका रूपमा लिनु पर्छः लुईटेल
५ मंसिर,काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेलले देशको राजनीतिक नेतृत्वपङ्क्ति विकासमा असफल रहेका कारण जनतामा गहिरो निराशा पैदा भएको आरोप लगाएका छन्। उनका अनुसार गणतन्त्र स्थापना भएयता नेपालले पटक–पटक १२ जना प्रधानमन्त्री परिवर्तन गरिसक्दा पनि देशले अपेक्षित विकासको फड्को मार्न सकेको छैन।
लुईटेलले भने, “बोल्दा त सबैले देशलाई समृद्ध बनाउने, विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिने वाचा गरे। तर अहिले जेएनजेले सुरु गरेको भ्रष्टाचार र कुशासनविरुद्धको आंदोलन देख्दा प्रधानमन्त्रीसम्मले भागेर ज्यान जोगाउनुपर्ने अवस्था आएको छ।”
विकासयोग्य राष्ट्रमा स्थिर नेतृत्व अपरिहार्य हुने उल्लेख गर्दै उनले विकसित तथा अनुशासित देशका प्रधानमन्त्रीहरूले दुई कार्यकालसम्म स्थिर रूपले नेतृत्व गर्ने, आफूले सुरु गरेका कामलाई पछिल्लो नेतृत्वले निरन्तरता दिने र त्यसकै परिणामस्वरूप जनता सुखी तथा सुरक्षित रहने उदाहरण दिए। “त्यहाँका प्रधानमन्त्री दुई पटकसम्म काम गर्छन्, देश बनाउँछन्, जनता सुखी हुन्छन्। नेपालमा भने नेता सुखी छन्, जनता दुःखी। किन यस्तो? यो प्रश्न नेतृत्व स्वयंले बुझ्नुपर्ने समय आएको छ,” लुईटेलले भने।
उनका अनुसार नेतृत्वको चरित्र, शासन प्रणाली र विकासप्रति प्रतिबद्धता नबदलिएसम्म देशले नयाँ दिशा लिन सक्दैन। भ्रष्टाचार विरुद्ध जनताले उठाएको आवाजलाई सरकारले दमन होइन, मार्गदर्शनको अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले निरन्तर उठाउँदै आएको सुशासन, पारदर्शिता र स्थिर नेतृत्वको माग अहिले जनस्तरमा थप तीव्र बन्दै गएको बताइएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.