यातायात व्यवस्था विभागले छपाइ सकिएका लाइसेन्सको विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने
५ मंसिर,काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा देखिएको अव्यवस्था र प्रणालीगत अवरोधपछि यातायात व्यवस्था विभागले अब छपाइ सम्पन्न भई विभागमा पुगेका लाइसेन्सहरूको विवरण फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ।
विभागले एक सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमा छपाइ सम्पन्न भएर विभागमा प्राप्त भएका सबै अनुमतिपत्रहरूलाई आधिकारिक फेसबुक पेज ‘Hello यातायात व्यवस्था विभाग’ मार्फत प्रकाशन गरिने जनाएको छ।
सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोस् भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो। अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण सोही फेसबुक पेजमा प्रकाशन गरिने छ।”
यसअघि विभागले एसएमएस प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउन सूचना दिने गर्थ्यो। तर पछिल्ला दिनमा जेनजी आन्दोलनका क्रममा विभागको डिजिटल प्रणाली प्रभावित भएपछि वैकल्पिक विधि अपनाउनुपरेको विभागले जनाएको छ।
फेसबुकमा आफ्नो नाम समावेश भएको पुष्टि भएपछि सेवा माग्ने व्यक्तिहरूले सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिएर विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ।
विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि सेवाग्राहीले लाइसेन्स छपाइको अवस्थाबारे अनिश्चिततामा बस्नु नपर्ने र वितरण प्रक्रिया केही सहज हुने अपेक्षा गरिएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.