संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक: नेपाल मातृभूमि पार्टी
काठमाडौं। नेपाल मातृभूमि पार्टीले संविधान संशोधनका विषयमा पुनः राष्ट्रिय सहमति कायम गर्न आह्वान गरेको छ। पार्टीका अध्यक्ष ओम प्रकाश विश्वकर्माद्वारा जारी वक्तव्यमा गत मङ्सिर १७ गते पार्टीका तर्फबाट समाननीय प्रधानमन्त्री शुशिला कार्कीलाई बुझाइएको ध्यानाकर्षण पत्रको सन्दर्भ उल्लेख गर्दै संविधान २०७२ माथि व्यापक छलफल आवश्यक रहेको धारणा दोहोर्याइएको छ।
पार्टीले सो ध्यानाकर्षण पत्रमार्फत जेनेरेशन–जेड युवा शक्ति, राजनीतिक दल तथा परम्परागत रूपमा क्रियाशील राजसंस्थाबीच गोलमेच सम्मेलन आयोजना गरी संविधानका विषयमा खुला बहस गर्न प्रस्ताव गरेको जनाएको छ। लोकतन्त्रको आधारस्तम्भ निर्वाचनमार्फत गठन हुने संसद्ले विषयगत रूपमा संविधान संशोधन गरी यसलाई सम्पूर्ण नेपाली जनताको साझा दस्तावेजका रूपमा स्थापित गर्नुपर्ने धारणा पत्रमा व्यक्त गरिएको अध्यक्ष विश्वकर्माले उल्लेख गरेका छन्।
यसै सन्दर्भमा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहद्वारा जारी सन्देशमा राष्ट्रिय सहमति कायम गरी निर्वाचनमा जानु उपयुक्त हुने उल्लेख गरिएको विषयलाई पार्टीले वर्तमान संवेदनशील र गम्भीर परिस्थितिमा थप सान्दर्भिक भएको जनाएको छ।
नेपाल मातृभूमि पार्टीले देशमा बढ्दो राजनीतिक ध्रुवीकरण, असन्तुष्टि र अविश्वासको अवस्था अन्त्य गर्न सबै पक्षबीच संवाद र सहकार्य आवश्यक रहेको औंल्याएको छ। पार्टीले सम्पूर्ण राजनीतिक दल, युवा शक्ति, नागरिक समाज तथा सरोकारवाला निकायलाई संविधान संशोधन र राष्ट्रिय सहमतिका विषयमा गम्भीर ध्यान दिन आग्रह गर्दै देशको हितका लागि एकजुट हुन हार्दिक आह्वान गरेको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
