समाधिस्थ स्वरूपमा
आत्मा नै सब हाे भन्ने अठाेट जब बन्दछ
म हूँ म ह्वैन यो भन्ने द्वन्द्व सारा हराउँछ ।
स्वरूपमा भई शान्त तत्त्वज्ञ छ रमाउने
सुखदु:ख दुवै ज्ञानी सबैतर्फ हटाउने ।।
लाभहानी र एकान्त भिन्न हुन्नन् कुनै पनि
यत्ति भयाे गरौँ यत्ति द्वन्द्वमुक्त हुने अनि ।
धर्म कर्म सबै अर्थ विवेक र अरू पन
हुँदैनन् यी कुनै अर्थ शान्त शून्य भई मन ।।
न छ कर्तव्यमा टाढा न अनुराग राश छ
जसरी बित्छ ऊ त्यस्तै त्यसमै सहवास छ ।
ज्ञान र ध्यान अज्ञान साक्षीमात्र बनीकन
न छ मुक्त न छन् बाँध आत्मामा नै रमाउन ।।
संसार झुठ हाे भन्ने ज्ञानमा जाे रमाउँछ
वासना विषयी हुन्नन् सत्य मार्ग समाउँछ।
म ब्रह्म भन्न खोज्दैन तर ब्रह्म हुने उही
भेद अभेदमा माथि रहन्छ एकमा उही ।।
साधना गर्नु पर्दैन साध्य स्वयं बनेपछि
व्यवहार अरूजस्तै गरी भिन्न भएपछि।
अरूभन्दा छ ऊ उल्टाे देखिए पनि एक नै
समाधिस्थ स्वयं सत्य भिन्न हुन्न छ एकमै ।
– हरिभक्त सिग्देल ‘ महेश ‘
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.