सुमेरु पोलिमर्सको पहिलो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । निर्माण रसायन तथा पाइप उत्पादन क्षेत्रमा सक्रिय सुमेरु पोलिमर्स लिमिटेडको पहिलो वार्षिक साधारण सभा आज ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्नुका साथै पूँजी विस्तार र आईपीओ निष्कासनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गरेको छ।
सभाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। बोनस सेयरको कर प्रयोजनका लागि ० दशमलव ४३७७ प्रतिशत नगद लाभांश दिने निर्णय पनि स्वीकृत गरिएको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुने छ। सोही वृद्धि भएको पूँजीको आधारमा १०:४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ, जसले हालका सेयरधनीलाई थप लगानीको अवसर प्रदान गर्नेछ।
त्यसैगरी, कम्पनीले कुल जारी पूँजीको ४० प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको छ। अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पूरा गरी प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् आईपीओको तयारी अघि बढाउने जनाएको छ। यस निर्णयलाई कम्पनीको पूँजी बजार प्रवेशतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति, सञ्चालक समिति पुनर्गठन, स्वतन्त्र सञ्चालक नियुक्ति तथा अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने प्रस्तावहरू पनि पारित गरेको छ।
व्यवस्थापन पक्षले निर्माण सामग्रीको आयात प्रतिस्थापन गर्दै गुणस्तरीय स्वदेशी उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएको छ। सुमेरु पाइप्स एन्ड फिटिङ्स ब्रान्डअन्तर्गत उत्पादन हुँदै आएका पीभीसी, एचडीपीई र सीपीभीसी पाइप तथा फिटिङ्स, टायल एडहेसिभ र वाल पुट्टीको बजार माग बढ्दो रहेको कम्पनीले जनाएको छ।
पहिलो वार्षिक साधारण सभाबाट पारित यी निर्णयहरूलाई कम्पनीको विस्तार यात्रामा महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.