नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँका बिभिन्न होटलका १५ सय कोठा बुक
२४ पुष, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि राजधानी काठमाडौंमा होटल बुक गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न होटलमा एक हजार पाँचसय कोठा बुक भइसकेका छन्।
आज खबर ब्रेकिंगसँग कुरा गर्दै संयोजक धमलाले पुस २६ गतेदेखि कोठाहरू प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगल लगायतका क्षेत्रका होटलहरूमा महाधिवेशन प्रतिनिधिहरूका लागि आवासको व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने कार्यतालिका रहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको पहलमा पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना हुन लागेको हो।
अहिले देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको छ। पार्टीका अनुसार प्रतिनिधिहरूको सहज सहभागिता सुनिश्चित गर्न आवास, खाना तथा व्यवस्थापनका अन्य तयारीलाई तीव्र रूपमा अगाडि बढाइएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.