काठमाडौँ–५ मा प्रदीप पौडेलको लोकप्रियता बढ्दो
काठमाडौँ । २०८२ सालको यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नम्बर ५ मा फेरि एकपटक रोचक र कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई चुनावी राजनीति चासोका साथ हेरिरहेको छ ।
२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका प्रदीप पौडेलले एमाले नेता ईश्वर पोखरेललाई पराजित गर्दै उल्लेखनीय जीत हासिल गरेका थिए । त्यसयता क्षेत्रका जनतासँगको निरन्तर सम्पर्क, विकास निर्माणका काम र जनताको समस्यामा सक्रिय उपस्थितिका कारण पौडेलको लोकप्रियता अझ बढ्दै गएको बताइन्छ । यही आधारमा २०८२ सालको निर्वाचनमा पनि पौडेल पुनः विजयी हुनेमा नेपाली काँग्रेस ढुक्क देखिएको छ ।
प्रदीप पौडेललाई युवा पुस्ताका प्रतिनिधि नेताका रूपमा लिइन्छ । उनी जेन्जी पुस्ताको भावना, चाहना र माग बुझ्ने तथा त्यसअनुसार राजनीति गर्न सक्ने नेता भएको काँग्रेस कार्यकर्ताको दाबी छ । पछिल्लो समय मतदाताहरू परम्परागत राजनीतिक शैलीभन्दा नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी नेतृत्व खोजिरहेका सन्दर्भमा पौडेलको छवि थप बलियो बन्दै गएको छ ।
यता एमालेका तर्फबाट उम्मेदवार ईश्वर पोखरेल पुरानो पुस्ताका अनुभवी नेता हुन् । तर हालै सम्पन्न एमाले महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएपछि पोखरेल पक्षका कार्यकर्तामा अपेक्षित उत्साह नदेखिएको चर्चा छ । यसले काठमाडौँ–५ मा एमालेको चुनावी माहोल केही कमजोर बनेको आकलन पनि गरिँदै आएको छ ।
नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरू भने प्रदीप पौडेललाई फेरि चुनाव जिताउन उत्साहका साथ मैदानमा सक्रिय रूपमा लागिसकेका छन् । घरदैलो, छलफल र जनसम्पर्क कार्यक्रममार्फत उनीहरू पौडेलको विगतको काम, विकासका उपलब्धि र भावी योजनाबारे मतदातालाई बुझाइरहेका छन् ।
काठमाडौँ–५ मा यसपटकको निर्वाचनलाई युवा नेतृत्व र पुरानो पुस्ताको राजनीतिक सोचबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । जनताको काम र विकासलाई प्राथमिकतामा राख्ने नेता रोज्ने मतदाताको मनोविज्ञानलाई आत्मसात् गर्न सके प्रदीप पौडेलले पुनः जीत दोहोर्याउने सम्भावना बलियो देखिएको छ ।
महामन्त्री प्रदीप पौडेल देशको भविष्य बोकेर उदाएका युवा नेता भएको दाबी गर्दै काठमाडौँ क्षेत्र नम्बर ५ मा उनको जित सुनिश्चित देखिएको वरिष्ठ राजनीतिज्ञ कृष्णबहादुर खड्काले बताए । पौडेलको नेतृत्व, कार्यक्षमता र जनताप्रतिको प्रतिबद्धताका कारण यसपटकको निर्वाचन अझ सहज रूपमा जित्ने आधार बलियो बनेको उनको भनाइ छ ।
खड्काका अनुसार प्रदीप पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भइसकेका अनुभवी र विश्वासिला नेता हुन् । “पहिला पनि जितेका नेता अहिले झनै परिपक्व, अनुभवी र जनताको भरोसा जितिसकेका छन्,” उनले भने, “यसपटक त जनताले अझ ठूलो अपेक्षासहित फेरि अवसर दिन चाहेका छन् ।”
स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका बेला पौडेलले गरेको कामलाई जनताले सकारात्मक रूपमा लिएको खड्काको दाबी छ । स्वास्थ्य सेवा विस्तार, नीति निर्माणमा देखाएको सक्रियता र संकटको समयमा लिएको नेतृत्वले पौडेललाई जनताको मनमा स्थापित गराएको उनले बताए । यही काम र परिणाम नै उनको जितको सबैभन्दा ठूलो आधार भएको उनको भनाइ छ ।
काठमाडौँ–५ मात्र होइन, प्रदीप पौडेल देशकै लोकप्रिय युवा नेताका रूपमा चिनिन थालेको खड्काको धारणा छ । नयाँ पुस्ताको सोच, जेन्जीको भावना बुझ्ने क्षमता र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण उनी युवामाझ मात्र होइन, सबै उमेर समूहका मतदातामा लोकप्रिय बन्दै गएको उनको भनाइ छ ।
यस क्षेत्रमा नेपाली काँग्रेसको बलियो, प्रभावशाली र भरोसायोग्य नयाँ पुस्ताको उम्मेदवारका रूपमा प्रदीप पौडेल स्थापित भइसकेको खड्काले उल्लेख गरे । “जनताले फेरि आश गरेका छन्, र त्यो आश पूरा गर्ने क्षमता पौडेलसँग छ,” उनले भने ।
आगामी निर्वाचनलाई विकास, काम र विश्वासको आधारमा लडिने चुनावका रूपमा चित्रण गर्दै काँग्रेस नेता तथा कार्यकर्ताहरू उत्साहका साथ मैदानमा उत्रिएको बताइएको छ । काठमाडौँ–५ मा प्रदीप पौडेलको नेतृत्वलाई निरन्तरता दिन मतदाताको समर्थन थप मजबुत बन्दै गएको संकेत देखिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
