मुलधारको पत्रकारितामाथि जनविश्वासको संकट छः वरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरे
काठमाडौँ । मुलधारको पत्रकारितामाथि जनविश्वास क्रमशः गुम्दै जानु नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको वरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत उनले गुम्दै गएको जनविश्वासलाई पुनःस्थापित गर्न आशन्न आम निर्वाचन एउटा महत्वपूर्ण अवसर हुन सक्ने उल्लेख गरेका छन् ।
घिमिरेका अनुसार विगतमा पत्रकारिता क्षेत्रमा भएका कमी–कमजोरीलाई पुनः नदोहोर्याउनेतर्फ आम पत्रकार र मिडिया सञ्चालक गम्भीर बन्न आवश्यक छ । उनले चेतावनीपूर्ण शैलीमा भनेका छन्, यदि मुलधारका मिडियाले आत्मसमीक्षा नगर्ने हो भने सामाजिक सञ्जालले मिडियाको स्थान लिँदै जाँदा पत्रकारिताको व्यवसाय नै संकटमा पर्न सक्छ । “मुलधारको मिडियाको स्थान सामाजिक सञ्जालले लिँदा आफ्नो व्यवसाय समाप्त हुन्छ भन्ने ख्याल पत्रकार तथा मिडिया सञ्चालकहरूले गर्नैपर्छ,” उनले लेखेका छन् ।
वरिष्ठ पत्रकार घिमिरेले मुलधारका मिडियाप्रति जनविश्वास घट्दै जानुमा पत्रकार तथा मिडिया सञ्चालकहरूको भूमिका जति छ, त्योभन्दा कम जिम्मेवारी पत्रकारिता अध्यापन गराउने शैक्षिक संस्थाहरूको नभएको स्पष्ट पारेका छन् । पत्रकारिता पढाउने क्याम्पसका गुरुहरूले पनि आफ्नै कमजोरी र भूमिकामाथि गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले पत्रकार उत्पादन गर्ने शैक्षिक प्रणाली नै कमजोर हुँदा त्यसको असर प्रत्यक्ष रूपमा मिडियाको विश्वसनीयतामा पर्ने उल्लेख गरेका छन् ।
राजनीतिक विश्लेषणतर्फ संकेत गर्दै घिमिरेले सडकबाट गरिएको राज्य सत्ता कब्जा र सडकबाट गरिएको राजनीतिक दल कब्जालाई एउटै टोकरीमा राखेर विश्लेषण गर्नु सर्वथा गलत हुने टिप्पणी गरेका छन् । यस्तो सतही र भ्रमपूर्ण विश्लेषणले पत्रकारिताको गरिमा घटाउने र जनतालाई गलत निष्कर्षतर्फ लैजाने खतरा रहेको उनको भनाइ छ ।
“यस्ता विषयमा हाम्रो देशको मुलधारको पत्रकारिताले सही हेक्का राख्यो या राखेन ? त्यसको उत्तर भविष्यले दिनेछ,” भन्दै उनले पत्रकारिताको भूमिका इतिहासले मूल्यांकन गर्ने स्पष्ट संकेत गरेका छन् ।
घिमिरेको यो धारणा अहिले मुलधारका मिडियामाथि उठिरहेको विश्वसनीयताको प्रश्न, सामाजिक सञ्जालको बढ्दो प्रभाव र पत्रकारिताको गुणस्तरमाथि भइरहेको बहससँग गहिरो रूपमा जोडिएको देखिन्छ । आशन्न आम निर्वाचनलाई अवसरका रूपमा लिएर तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्न सके मात्र मुलधारको मिडियाले पुनः जनविश्वास जित्न सक्ने उनको निष्कर्ष छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
