प्रतिनिधिसभा सदस्य उम्मेदवार चौहानसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा प्रतिनिधिसभा सदस्य उम्मेदवारसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौंको शंखमूल मार्गस्थित अर्याल होटलमा भव्य रूपमा सम्पन्न भएको छ । चुनावी माहोल तातिँदै जाँदा आयोजित यस कार्यक्रममा अर्घाखाँचीबाट आएर काठमाडौंमा विभिन्न पेशा–व्यवसाय, अध्ययन र रोजगारीमा संलग्न मतदाताको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर चौहानले यसपटकको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले अर्घाखाँचीका गाउँ–गाउँमा पुगेका बेला जनताबाट पाएको उत्साह, समर्थन र भरोसाले आफूलाई थप आत्मविश्वासी बनाएको बताए । “म अहिलेसम्म चुनाव हार्न जानेको छैन, यो चुनाव पनि जित मेरो नै हुनेछ,” चौहानले ठोकुवा गर्दै भने, “अर्घाखाँचीवासी जनताको दुःख–सुख बुझ्ने, उनीहरूको पक्षमा उभिने मान्छे म नै हुँ भन्ने कुरा जनताले बुझेका छन् ।”
काठमाडौंमा बसेर विभिन्न पेशा–व्यवसाय गरिरहेका अर्घाखाँचीवासीहरू एकजुट भएर चुनावी माहोल बनाउन सकेमा जित झनै सहज हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले अब केवल भाषण र आश्वासनले मात्र जनता सन्तुष्ट नहुने बताइन् । उनले परिणाम देखिने गरी काम गर्ने नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै चौहानजस्तो अनुभवी र जनसम्पर्कमा मजबुत उम्मेदवारलाई जिताउनु आजको आवश्यकता भएको धारणा राखिन् ।
त्यसैगरी पार्टी नेता डिलाराम आचार्यले अर्घाखाँची जिल्लामा अन्य पार्टीसँग तुलना गर्दा रामबहादुर चौहानजस्तो अब्बल, अनुभवी र जनतासँग प्रत्यक्ष जोडिएको उम्मेदवार अरू कसैसँग नभएको दाबी गरे । उनले जिल्लामा गएर एक ढिक्का भएर चौहानलाई जिताउन सबै कार्यकर्ता र समर्थकलाई आग्रह गर्दै विजयको शुभकामना दिए ।
कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले पनि आ–आफ्नो मन्तव्य राख्दै चौहानको राजनीतिक अनुभव, जनआधार र विकासप्रतिको प्रतिबद्धताको चर्चा गरेका थिए । चुनावी प्रचारलाई अझ प्रभावकारी बनाउन काठमाडौंमा रहेका अर्घाखाँचीवासीहरूको भूमिकालाई निर्णायक बनाउनु पर्नेमा वक्ताहरूको जोड थियो ।
कार्यक्रमको सञ्चालन मधु आचार्यले गरेका थिए भने सभापतित्व विष्णु भाटले गरेका थिए । कार्यक्रमले काठमाडौंमा रहेका अर्घाखाँचीवासीबीच चुनावी उत्साह थप बढाएको सहभागीहरूको प्रतिक्रिया थियो ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
