नेपाली जनता दलले प्रतिनिधि सभा निर्वाचनका लागि गर्यो दल दर्ता
९ मंसिर,काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेपाली जनता दलले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि आयोग पुगेका राष्ट्रिय अध्यक्ष हरिचरण साह, कार्यकारी अध्यक्ष नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष डा. लछि सिंह, उपाध्यक्ष निच्छल जोशी र महासचिव ठाकुर पोखरेलले आवश्यक कागजातसहित दर्ता निवेदन पेस गरेका हुन् ।
दल दर्तापछि अध्यक्ष साहले सबै प्रकारका चुनावमा सहभागी हुन आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दल दर्ता गरिएको जानकारी दिए । उनले आगामी निर्वाचन जहिले भए पनि आफूहरू तयार रहेको र त्यसैअनुसार दल दर्ता अघि बढाइएको बताए ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय मंसिर १० गतेसम्म तोकिएको छ । नेपाली जनता दलको दल दर्ता नम्बर ६३ रहेको छ भने निवेदन पेस गर्ने व्यक्ति अध्यक्ष हरिचरण साह हुन् ।
हालै मात्र हरिचरण साह नेतृत्वको नेपाली जनता दल र नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी औपचारिक रूपमा एकीकृत भएका छन् । राजधानीमा शनिबार आयोजित विशेष समारोहमार्फत दुवै दलले ‘नेपाली जनता दल’ नाम कायम राख्ने र आगामी चुनावमा ‘सिठ्ठी’ चुनाव चिन्ह उपयोग गर्ने सहमतिसहित एकीकरण घोषणा गरेका थिए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.