सिटिजन्स बैंकको १९औँ साधारणसभाबाट ५.२६% लाभांशसहित वित्तीय प्रतिवेदन पारित
१५ मंसिर,काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औँ वार्षिक साधारणसभाबाट ५.२६ प्रतिशत लाभांश पारित भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा मंसिर १२ गते शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन अनुमोदन गरेको छ।
बैंकको साधारणसभाले हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको प्रतिशतले हुन आउने पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । आ व ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
त्यस्तै , फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ। साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.